वीरगंज , पुष – १४
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अहिलेसम्म चारवटा दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन्।
आइतबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनप्रिय लोकतान्त्रिक पार्टी र थारु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्नो बन्दसूची पेश गरेका थिए भने आज थप एक दलले सूची बुझाएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार, बन्दसूची पेश गर्ने समय आज साँझ ४ बजेसम्म मात्र छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र रास्वपाजस्ता मुख्य दलहरूले आज आफ्नो सूची बुझाउने तयारी गरेका छन्।
आयोगले पुस १५–२० गतेसम्म पेश बन्दसूचीको छानबिन गर्ने र पुस २१–२७ गतेसम्म दललाई सुधार गर्न समय दिने कार्यतालिका तय गरेको छ। अन्तिम समीक्षा पश्चात माघ ४ गते बन्द सूची सार्वजनिक गरिनेछ भने माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ।
समानुपातिक प्रणालीअन्तर्गत दलहरूले ११–११० जनाको सूची पेश गर्नुपर्नेछ। यस निर्वाचनका लागि एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन्। समानुपातिक निर्वाचनमा भाग लिन १ सय दलले ९३ चुनाव चिन्हमा दर्ता गराएका छन्।















