वीरगंज , पूष-१४
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन परेपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा राजनीतिक दलहरूको चहलपहल बढेको छ। विभिन्न दलका प्रतिनिधिहरू आवश्यक कागजातसहित आयोग परिसरमा पुगेका छन्।
आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी तथा नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले समानुपातिक बन्दसूची दर्ता गराइसकेका छन्।
यसैबीच नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जस्ता ठूला दलहरू अन्तिम सूची टुङ्ग्याउने तयारीमा छन्। कांग्रेसले समानुपातिकमा सबै जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिँदै २०६४ सालदेखि अवसर पाएकालाई यसपटक नदोहो¥याउने निर्णय गरेको छ। पार्टीभित्र संस्थापन र इतर पक्षबीच ६०–४० को अनुपातमा उम्मेदवार छनोट गर्ने तयारी छ।
एमालेले समानुपातिक उम्मेदवारको अन्तिम सूची टुङ्ग्याउने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। सचिवालय बैठकमा नामहरूमा छलफल भए पनि अन्तिम निर्णय अध्यक्षबाटै हुने जनाइएको छ। नेकपाले भने अघिल्ला चुनावमा सांसद वा मन्त्री भइसकेकालाई समानुपातिक सूचीबाट बाहिर राख्ने गरी तयारी गरिरहेको बताएको छ।














