राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच लामो छलफलपछि सहमति बनेको छ ।
सहमतिअनुसार घिसिङलाई पार्टीको उपसभापति बनाउने निर्णयमा दुवै पक्ष पुगेका छन् । सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने प्रक्रिया अहिले अघि बढिरहेको स्रोतले जनाएको छ ।
यसैगरी, समानुपातिकतर्फ घिसिङ पक्षबाट १८ जनालाई उम्मेदवारको सूचीमा समेट्ने विषयमा पनि समझदारी भएको छ । यसअघि पार्टी नेतृत्व संरचनाअन्तर्गत सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने सहमति भइसकेको थियो ।
त्यस सहमतिप्रति असन्तुष्ट देखिएका घिसिङसँग निरन्तर संवाद भइरहेको थियो । सोमबार काठमाडौंमा भएको पछिल्लो भेटघाटपछि दुवै पक्षबीच मतभेद अन्त्य भई सहमति टुंगिएको बताइएको छ ।














