समानुपातिक बन्दसूचीका त्रुटिबारे आयोग–दलबीच छलफल

वीरगंज , पुष – १७

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पेश भएका बन्दसूचीमा देखिएका त्रुटिबारे राजनीतिक दलसँग पालैपालो छलफल गरिरहेको छ। छलफलपछि देखिएका कमजोरी सच्याउन यही पुस २० गते औपचारिक पत्राचार गरिने आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समावेशी समूह मिलाएको/नमिलाएको लगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको छ। हिजो १२ दलसँग छलफल भएको र आज पनि १२ दलसँग छलफल गर्ने तालिका रहेको उनले जानकारी दिए ।

कुल ६४ राजनीतिक दलले समानुपातिक बन्दसूची पेश गरेकामा २२ दलले मात्रै १ सय १० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन् । आयोगले पुस २१ देखि २७ गतेसम्म विवरण मिलाउन समय दिनेछ भने मिलाइएको बन्दसूची जाँच गरी आउँदो माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने जनाएको छ ।

बन्दसूचीलाई लिएर विवाद र आलोचना चर्किरहेका बेला आयोगले नाम हेरफेर गर्न नमिल्ने तर त्रुटि सच्याउन मिल्ने स्पष्ट पारेको छ । बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा मात्र उनको सट्टा अर्को नाम राख्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः