वीरगंज ,पुस – १७
एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सत्यनारायण साफीलाई व्यवसायी विकास सारडाले प्रत्येक महिना १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
छात्रवृत्तिमा पढाइ भए पनि खानबस्न र अन्य खर्चको भार पर्ने भएकाले साफीको अध्ययन सहज बनाउन आफ्नो ४७ औँ जन्मदिनको अवसरमा सहयोग गर्ने निर्णय गरिएको सारडाले बताएका छन्। सोहीअनुसार आज सिरहा बरियारपट्टी गाउँपालिका–२, सिरिपुर निवासी साफीसँग लिखित सम्झौता गरिएको छ।
जिल्ला उद्योग वाणिज्य संघ लहान–सिरहाका अध्यक्षसमेत रहेका सारडाका अनुसार प्रत्येक महिना आफ्नै खाताबाट सत्यनारायणको नबिल बैंक खातामा १० हजार रुपैयाँ पठाइनेछ। एमबीबीएस अध्ययन जारी रहेसम्म सहयोग निरन्तर रहने र बीचमै पढाइ छाडेमा सहयोग स्वतः बन्द हुने सहमति पत्रमा उल्लेख छ।
“यो हाम्रो सामाजिक दायित्व हो,” सारडाले भने, “आर्थिक अभावका कारण पढाइमा अवरोध नआओस् भनेर सहयोग गर्ने निर्णय गरेको हुँ। यदि उनले पढाइ अधुरै छाडे भने सहयोग पनि त्यसै दिनदेखि अन्त्य हुन्छ।”
सारडाले विगतमा आर्थिक अवस्थाका कारण आफ्नै बहिनीलाई एमबीबीएस पढाउन नसकेको अनुभव स्मरण गर्दै सत्यनारायणलाई त्यस्तो समस्या नहोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए।









