वीरगंज १७ पुस । जनमत पार्टी, पर्साका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर वीरगंज नगर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन् । ‘धोती–टोपी एक हौं’ नाराका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले सांस्कृतिक पहिचान र आपसी सम्मानको सन्देश दिन कार्यक्रम आयोजना गरिएको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
मधेसी समुदायको पहिचानका रूपमा रहेको धोतीप्रति राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा सहभागीहरूले धोती र टोपी दुवै नेपाली पहिचानका अभिन्न अङ्ग भएको उल्लेख गरेका थिए ।
¥यालीमा केन्द्रिय सदस्य विद्यालाल प्रसाद, सिमा गुप्ता, मालती कुशवाहा, श्याम प्रसाद गुप्ता, श्याम शंकर चौरसिया, नजमा खातुन, रूक्साना खातुन, प्रदेश सदस्यहरू बृजेस्वर चौधरी, राजनरायण मिश्रा, सत्जुग साह, अब्दुल अन्सारीलगायतको सहभागिता थियो ।









