मधेस , पुस -१८
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आठै जिल्लाका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई नागरिकको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र सहज रूपमा हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन ।
शुक्रबार कार्यालय प्रमुखहरूलाई बोलाएर गरिएको बैठकमा मुख्यमन्त्री यादवले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएकाले सामान्य उपचारका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए । उनले अस्पतालको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वय प्रभावकारी बनाउन निर्देशन दिए ।
बैठकमा उपचारका क्रममा देखिएका समस्या, जनगुनासो तथा सेवाको गुणस्तर सुधारका उपायबारे विस्तृत छलफल भएको थियो । मुख्यमन्त्री यादवले सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई जिम्मेवारीपूर्वक काम गर्दै परिणाममुखी सेवा दिन आग्रह गरे ।
प्रदेश सरकारले स्वास्थ्य सेवामा कुनै सम्झौता नगर्ने स्पष्ट गर्दै उहाँले स्वास्थ्य क्षेत्र सुधार मधेस प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।















