वीरगंज, १८ पुस । अवैध सालको काठबाट बनेका फर्निचरका सामग्रीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ४ का ४८ वर्षीय उपेन्द्र प्रसाद कुर्मी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका २७ दरदर्वास्थित सडकखण्डमा गस्ती गर्ने क्रममा शंका लागेर ना २च २८३५ नम्बरको पिकअप गाडी जाँच गरेको थियो ।
जाँच गर्दा पिकअप गाडीमा लोड गरी ल्याइएको अवैध सालको काठबाट निर्मित फर्निचर सामग्रीहरू फेला परेपछि चालक कुर्मीलाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद सामग्रीहरू सालको चौकोस दुर्ई थान, सालको झ्याल दुर्ई थान, अधुरो बक्स प्लाई सेट तीन थान, अधुरो कुर्सी चार थान, डाइनिङ टेबल एक थान, किचेन रेक र ह्याङ्गर तीन थान रहेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जनाएका छन् । चोरी तस्करी गरी ल्याइएको काठबाट बनाइएका उक्त फर्निचरका सामानहरू र चालक कुर्मीलाई आवश्यक कारबाहीका लागि बिहीवार डिभिजन वन कार्यालय पर्सामा बुझाइएको छ ।














