वीरगंज , पुस – २०
उच्च पदस्थ सरकारी अधिकारीलाई हत्या धम्की दिएको आरोपमा फरार रहेका प्रकाश पाठकलाई फिलिपिन्समा पक्राउ गरिएको छ।
फिलिपिन्स अध्यागमन ब्यूरोका अनुसार ३३ वर्षीय पाठकलाई बुलाकान प्रान्तको पासेओ दे कांग्रेसो क्षेत्रमा पुस १६ गते नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई देश निकाला प्रक्रिया पूरा नभएसम्म हिरासतमा राखिएको छ।
काठमाडौं जिल्ला अदालतले मंसिर १५ गते पाठकविरुद्ध हत्याको धम्की दिने मामलामा पक्राउ पुर्जी जारी गरेको थियो। यसअघि इन्टरपोलले उनलाई जबरजस्ती असुली र आपराधिक षड्यन्त्रसम्बन्धी ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो।
अध्यागमन ब्यूरोका अनुसार पाठक नेपालमा गम्भीर सुरक्षासम्बन्धी गतिविधिमा संलग्न थिए। उनी फरार कैदीलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग प्रस्ताव गर्ने र हतियार समेत साथमा राख्ने गरेको पाइएको छ।
पाठक फिलिपिन्समा भदौ २ गते प्रवेश गरेका थिए र पुस ३ गतेसम्म बस्न अनुमति पाएका थिए। राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको निर्देशनअनुसार फिलिपिन्सलाई फरार अभियुक्तको सुरक्षित आश्रयस्थल बन्न नदिने नीति अन्तर्गत उनलाई पक्राउ गरिएको छ।













