एजेन्सी , पुस – २०
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने योजना महिनौँदेखि बनाएको खुलासा भएको छ । बीबीसीका अनुसार अमेरिकी गुप्तचरहरूले मदुरोका दैनिक गतिविधि, बस्ने स्थान, खानेकुरा, लाउने कपडा र घरपालुवा जनावरसम्म निगरानी गर्दै ‘स्रोतहरूमार्फत’ भेनेजुएला सरकारभित्र जानकारी संकलन गरेका थिए।
मिसनको नाम ‘अपरेशन एब्सोल्यूट रिजल्भ’ राखिएको थियो। अमेरिकी विशेष फौजले कराकासस्थित मदुरोको सुरक्षित आवासमा प्रवेश गर्ने अभ्याससमेत गरेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले चार दिनअघि नै आक्रमणको अनुमति दिए पनि खराब मौसमका कारण कार्यान्वयन शुक्रवार राति गरिएको थियो ।
शनिबार बिहान भेनेजुएलाको राजधानी काराकासमा ठूला विस्फोटका आवाज सुनिएको थियो। अमेरिकाले १५० भन्दा बढी विमान, बमवर्षक र लडाकु जेटहरू परिचालन गरेको थियो। आक्रमणअघि नै विशेष प्रविधि प्रयोग गरी काराकासको बिजुली काटिएको थियो । अमेरिकी सेनाले मदुरोको ‘सेफ हाउस’ का ढोका काट्न ब्लो टर्च र आधुनिक उपकरण प्रयोग गरेको बताइएको छ ।
यसैक्रममा अमेरिकी सेनाले निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर न्यूयोर्कमा हिरासतमा राखेको छ। अमेरिकाले भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको रूपमा नियुक्त गरेको छ। ट्रम्पले सुरक्षित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउने बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरोमाथि लागूऔषध तस्करी र ‘लागूऔषध आतंकवाद’को आरोप लगाएका छन्। यो घटनापछि विश्वभरका नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्, कतिले निन्दा गरे भने कतिले समर्थन गरेका छन्।













