अभिभावक भेलाबाट सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन  चार सदस्य चयन

वीरगंज, २५ पुस ।  श्री देवनन्दन देवराज  माध्यमिक विद्यालय, बहुदरमाई नगरपालिका–८, रामनगरीमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ।

अभिभावकमध्ये चार जना सदस्यहरू सन्तोष कुमार साह, बृजलाल महरा, महिला सदस्यतर्फ सपना देवी र शोभा देवी चयन भएका हुन् ।

प्रधानाध्यापक उमाकान्त महतोका अनुसार कुल ५०० विद्यार्थी अध्ययनरत यस विद्यालयमा ३०० भन्दा बढी अभिभावकहरूको उपस्थितिमा भेला सम्पन्न भएको हो।

भेलामा वडा नं. ८ का वडा अध्यक्ष पुनीलाल साह तेली, बहुदरमाई नगरपालिका, बहुअरी पीडारी पर्साका शिक्षा शाखा प्रमुख एवं विद्यालय व्यवस्थापन समिति सदस्य छनोट समितिका संयोजक मणि भूषण प्रसाद साह, वडा समिति सचिव प्रेम किशोर साह, विद्यालयका प्रधानाध्यापक उमाकान्त महतो, शिक्षक राजकिशोर प्रसाद कानु, प्रमोद कुमार पण्डित (लेखपाल), अभिभावकहरू, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको अवस्थामा शिक्षक, अभिभावक, नगरपालिका र वडा कार्यालयको संयुक्त प्रयासबाट आज यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानाध्यापक महतोले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सुरक्षाकर्मी तथा सञ्चारकर्मीको भूमिकालाई पनि अपरिहार्य भन्दै उनीहरूको सहयोगकै कारण भेला शान्तिपूर्ण र सफल भएको बताउनुभयो।

अब यसपछि पदेन सदस्य तथा अध्यक्ष चयनका लागि आवश्यक गृहकार्य अघि बढाइने प्रधानाध्यापक महतोले जानकारी दिनुभयो। व्यवस्थापन समितिले पूर्णता पाएपछि विद्यालयको भौतिक विकास–निर्माणदेखि शैक्षिक गतिविधि अझ तीव्र गतिमा अगाडि बढ्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

श्री देवनन्दन देवराज  माध्यमिक विद्यालय, रामनगरी, पर्सा हाल सफल विद्यालयका रूपमा स्थापित भइसकेको छ। गुणस्तरीय शिक्षा, कडा अनुशासन र शिक्षक–विद्यार्थीबीचको सकारात्मक व्यवहारका कारण यो विद्यालय पर्सा जिल्लामै उत्कृष्ट विद्यालयको रूपमा परिचित रहँदै आएको छ।

सम्बन्धित पोस्टहरुः