मन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणको कुनै निम्तो छैन

वीरगंज , २५ पुस –

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि औपचारिक वा अनौपचारिक रूपमा निम्तो नदिएको स्पष्ट पारेको छ।

परिषद्का प्रवक्ता सन्देश उप्रेतीद्वारा जारी विज्ञप्तिमा संघको आधिकारिक स्वीकृतिबिनाको कुनै पनि भ्रमण, कार्यक्रम वा फन्डरेजिङ अवैध र अमान्य हुने उल्लेख गरिएको छ। विज्ञप्तिमा एनआरएनए एनसीसी यूएसएको नाम र आधिकारिक वेबसाइटको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रम सञ्चालन भइरहेको र त्यससँग मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि जोडिएको विश्वासयोग्य जानकारी प्राप्त भएको जनाइएको छ।

संस्थाको प्रतिष्ठा र सदस्यहरूको हितमा आँच नपुगोस् भन्ने उद्देश्यले यस्ता गतिविधिविरुद्ध कडाइका साथ कानुनी कारबाही अघि बढाइने परिषद्ले जनाएको छ। साथै अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई समेत यसबारे जानकारी गराइने स्पष्ट गरिएको छ।

एनआरएनए एनसीसी यूएसएले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै संस्थासँग कुनै पनि अनधिकृत कार्यक्रम, भ्रमण वा कथित युवा कार्यक्रमसँग कुनै प्रकारको सम्बन्ध, स्वीकृति वा साझेदारी नरहेको दोहोर्या एको छ।

यसैबीच, केही अनलाइन समाचार तथा सामाजिक सञ्जालमा नक्कली निम्तो वा कार्यक्रमको दाबी सार्वजनिक भए पनि संघ र सम्बन्धित निकायहरूले ती दाबीलाई पूर्ण रूपमा खण्डन गरेका छन्।

सम्बन्धित पोस्टहरुः