वीरगंज , २५ पुस —
उपकार सेवा नेपालले चिसो मौसमलाई ध्यानमा राख्दै पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरेको छ।
आश्रममा रहेका अपाङ्गता भएका व्यक्ति, सुस्त मनस्थिति भएका नागरिक, वृद्ध–वृद्धा तथा बालबालिकाका लागि २७ थान कम्बल उपलब्ध गराइएको हो ।
कम्बल हस्तान्तरण कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका प्रतिनिधि रामबहादुर थिङलाई सामग्री प्रदान गरेका थिए। संस्थाका अनुसार आश्रममा बसोबास गर्नेहरूको स्वास्थ्य र दैनिक जीवन सहज बनाउने उद्देश्यले सहयोग गरिएको हो।
उपकार सेवा नेपालले यस आश्रमलाई नियमित रूपमा खाद्यान्न र आवश्यक जिन्सी सामग्री सहयोग गर्दै आएको जनाएको छ।
स्थानीयवासी र आश्रम व्यवस्थापनले संस्थाको निरन्तर मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।















