वीरगंज , २४ पुस –
नारायणी अस्पताल वीरगंजले स्वास्थ्य सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
अस्पतालमा पहिलोपटक लेप्रोस्कोपिक विधिबाट फाटेको एक्टोपिक गर्भावस्था (Ruptured Ectopic Pregnancy) तथा ट्युबल लिगेसनसम्बन्धी स्त्रीरोग शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताका अनुसार यो शल्यक्रियाले नारायणी अस्पतालमा आधुनिक, सुरक्षित तथा बिरामीमैत्री शल्य सेवाको सुरुवात भएको संकेत गरेको छ । लेप्रोस्कोपिक प्रविधिबाट गरिएको शल्यक्रियाले बिरामीलाई कम पीडा, छिटो स्वास्थ्य लाभ र न्यून जोखिमको सुविधा प्रदान गर्ने बताएका छन् ।
शल्यक्रिया सफल भएपछि अध्यक्ष गुप्ताले अपरेशन थिएटर (ओटी) टिम, चिकित्सक, नर्स तथा सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै समर्पण, टिमवर्क र प्रतिबद्धताका कारण यो उपलब्धि सम्भव भएको बताएका छन् ।
आगामी दिनमा नारायणी अस्पताललाई थप प्रविधिमैत्री तथा विशेषज्ञ सेवासहितको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरंजन साहका अनुसार यस सफलतासँगै नारायणी अस्पताल वीरगंजले सरकारी अस्पतालमै उन्नत स्त्रीरोग शल्य सेवाको पहुँच विस्तार गरेको छ । यसले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम चालेको उनले बताएका छन् ।















