वीरगंज , २७ पुष
परवानीपुर–ड्राइपोर्ट बाइपास सडकखण्डमा शुक्रबार राति फोरक्लिप र मोटरसाइकल ठोक्किँदा ज्यान गुमाएका युवकको परिचय खुलेको छ । मृतक युवक वीरगंज महानगरपालिका वडा नम्बर ३२ चोर्नी निवासी ३२ बर्षीय विशाल महतो रहेका छन ।
शुक्रबार राति प्रदेश २–०३–०२३ प ७१ नम्बरको पल्सर मोटरसाइकल मालसामान लोड गर्ने फोरक्लिपसँग ठोक्किँदा महतो गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
प्रहरीले फोरक्लिप चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार नारायणी अस्पतालमा शल्यपरीक्षण सम्पन्न गरेपछि मृतकको शव परिवारको जिम्मा लगाइनेछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















