पार्टीहरू पनि राजसंस्था ल्याउन चाहन्छन् : हिरा बहादुर चन्द

वीरगंज, २७ पुस —

राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले राजनीतिक दलहरू स्वयं पनि राजसंस्था पुनःस्थापना गर्न चाहिरहेको दाबी गरेका छन्।

राष्ट्रिय नागरिक संघर्ष समिति पर्साले वीरगंजमा आयोजना गरेको बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा आयोजित नागरिक सभालाई सम्बोधन गर्दै प्रवक्ता चन्दले यस्तो बताएका हुन्। उनले राजनीतिक दलहरूले सार्वजनिक रूपमा गणतन्त्रको पक्षमा देखिए पनि भित्री रूपमा राजसंस्थाप्रति झुकाव राखिरहेको आरोप लगाए।

प्रवक्ता चन्दले आउँदो फागुन २१ गते तोकिएको चुनाव कुनै पनि हालतमा नहुने दाबी गर्दै, “नहुने चुनावको किन विरोध गर्नुपर्ने ?” भन्ने प्रश्नसमेत उठाए। उनले वर्तमान राजनीतिक अवस्था जनभावनाविपरीत रहेको टिप्पणी गर्दै नागरिक आन्दोलनमार्फत वैकल्पिक व्यवस्था स्थापित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी वक्ताहरूले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, स्वाधीनता र सुशासनका विषयमा धारणा राखेका थिए।

सम्बन्धित पोस्टहरुः