फोरम फर विमेन्सद्वारा पर्सामा डिजिटल हिंसाविरुद्ध कचहरी नाटक प्रदर्शन

पर्सा, २७ पुस —

पर्सा जिल्लाको औराहा पञ्चगावा स्थित श्री दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयमा फोरम फर विमेन्स, ल’ एन्ड डेभलपमेन्ट (FWLD) को आयोजनामा डिजिटल हिंसाविरुद्ध कचहरी नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा अधिवक्ता अभय चौधरी थारुले डिजिटल माध्यमबाट हुने हिंसा, साइबर अपराध र नागरिकका डिजिटल अधिकारका विषयमा विद्यार्थीहरूलाई व्यवहारिक जानकारी दिएका थिए। विद्यालयका प्रधानाध्यापक शिवनाथ थारुले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षित र जिम्मेवार डिजिटल प्रयोगतर्फ प्रेरित गर्ने बताए।

कक्षा ९ र १० का विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कचहरी नाटकमार्फत डिजिटल हिंसाका घटनाहरू, पीडितको अवस्था, कानुनी उपचार प्रक्रिया र अधिकार संरक्षणका उपायहरू सरल र प्रभावकारी रूपमा प्रस्तुत गरियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई साइबर अपराधबाट जोगिने उपाय सिकाउनु, आफ्ना अधिकारबारे जानकारी दिनु र समस्या परेमा कानुनी सहायता प्राप्त गर्ने मार्गबारे जनचेतना फैलाउनु रहेको FWLD ले जनाएको छ। यस कार्यक्रम देशका सात जिल्लामा प्रदर्शन गर्ने योजना अनुसार सञ्चालन भइरहेको छ।

सम्बन्धित पोस्टहरुः