क्लबको सहयोगमा सशस्त्र प्रहरीद्वारा कम्बल वितरण

वीरगंज , २७ पुस –
२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल पर्साले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा रोटरी क्लब अफ वीरगंजको सहकार्यमा आज जिल्लाका विभिन्न पालिकाका २०३ विपन्न घरपरिवारलाई न्यानो कपडा (पोलार) वितरण गरिएको हो।

कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वितरण कार्यक्रमअन्तर्गत सीमा सुरक्षा गुल्म हे.क्वा. अलौको प्राङ्गणमा वीरगंज महानगरपालिका–१७ का ३४ परिवार, बिओपी अमरपट्टीमा बिन्दवासिनी गाउँपालिका–३, ४ र ५ का ३७ परिवार, बिओपी पिडारीगुठ्ठीमा जगरनाथपुर गाउँपालिका–१ का १६ परिवार, बिओपी भिष्वामा छिपहरमाई गाउँपालिका–३, ४ र ५ का ७१ परिवार, बिओपी महादेवपट्टीमा जिराभवानी गाउँपालिका–१ का १५ परिवार तथा सीमा सुरक्षा गुल्म हे.क्वा. भिखमपुरमा धोविनी गाउँपालिका–२ र जगरनाथपुर गाउँपालिका–२ का ३० विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल पर्साले सीमावासीको सुरक्षासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। कार्यक्रमले चिसो मौसममा विपन्न परिवारलाई राहत पुगेको स्थानीयले बताएका छन्।

उक्त जानकारी सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले दिएका हुन्।

सम्बन्धित पोस्टहरुः