वीरगंज, २८ पुस –
तराई–मधेश क्षेत्रमा चिसो बढेसँगै बाक्लो कुहिरो लाग्दा भिजिबिलिटी निकै कम भएको छ। कुहिरोका कारण सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रहरीले सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
हाल वीरगंजसहित मधेशका विभिन्न स्थानमा बाक्लो कुहिरो लागेको छ भने चिसो हावा पनि चलिरहेको छ। कुहिरोले सडक दृश्यता घटाउँदा सवारी आवागमन प्रभावित भएको छ।
बढ्दो चिसोका कारण सर्वसाधारणको जनजीवनसमेत प्रभावित भएको छ। प्रहरी प्रशासनले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारी साधनको गति नियन्त्रणमा राख्न, हेडलाइट र फग लाइट प्रयोग गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।















