राष्ट्र जोगाउने संकल्पसहित वीरगंजमा पृथ्वी जयन्ती मनाइयो

वीरगंज, २७ पुस ।
मुलुकलाई असफल राष्ट्र बन्नबाट जोगाउँदै सफल राष्ट्रतर्फ अग्रसर गराउनु नै श्री ५ बडा महाराजधिराज पृथ्वी नारायण शाहप्रति सच्चा श्रद्धाञ्जलि हुने वक्ताहरूले बताएका छन्।

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय नागरिक संघर्ष समिति, वीरगंज केन्द्रद्वारा आयोजित नागरिक सभामा वक्ताहरूले उक्त धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा संघर्ष समितिका प्रवक्ता हीरा बहादुर चन्दले वर्तमान अवस्थामा राजसंस्थाको विकल्प नरहेको कुरा राजनीतिक दलहरूले पनि भित्रभित्रै स्वीकार गरिसकेको दाबी गरे।

उनले दबाब र प्रभावका कारण दलहरूले खुला रूपमा भन्न नसकेको उल्लेख गर्दै बडामहाराज पृथ्वी नारायण शाहको दिव्य उपदेशलाई मनन गरी संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रसहित संविधान २०४७ पुनःस्थापना गर्नुको विकल्प नरहेको बताए। उनले २०६३ साल वैशाख ११ गते भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए।

सभामा वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले २०७२ को संविधानलाई अवैध दस्तावेजको संज्ञा दिँदै २०७४ सालको संविधान जारी गर्नुपर्ने धारणा राखे। “मुलुक नै नरहे के गर्छौं ?” भन्दै उनले दलका नेताहरूलाई नामै तोकेर यथाशीघ्र संविधान २०४७ तर्फ फर्किन चेतावनी दिए।

संघर्ष समितिका केन्द्रीय सदस्य डा. राजीव झाले २०७२ को संविधान सिंगो नेपालले बहिष्कार गरिसकेको दाबी गर्दै संविधान २०४७ पुनःस्थापना गरी आपसी मतभेद त्याग्दै राष्ट्रिय एकता कायम गर्नु नै पृथ्वी नारायण शाहप्रतिको सच्चा सम्मान हुने बताए।

नागरिक सभा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता तथा वीरगंज केन्द्रका संयोजक हीरा बहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको थियो। सभामा राजकुमार सिन्धी, विपिन शाह, अब्दुल सतार, बृजकिशोर गुप्तालगायतले मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन मानव सेवकले गरेका थिए भने स्वागत मन्तव्य दिनानाथ प्रसाद यादवले दिएका थिए।

यसअघि पृथ्वी जयन्तीको अवसरमा संघर्ष समितिले सम्झना होटल प्रांगणबाट रथ तथा बाजागाजासहित नागरिक र्‍याली निकालेको थियो। र्‍याली घण्टाघर, आदर्शनगर हुँदै नगर परिक्रमा गरी पुनः घण्टाघर चोकमा पुगेर श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पणपछि नागरिक सभा आयोजना गरिएको थियो।

सम्बन्धित पोस्टहरुः