वीरगंज , २८ पुस –
पूर्वमन्त्री तथा पर्सा क्षेत्र नम्बर–१ का निर्वतमान सांसद प्रदीप यादवले आफू नेकपा एमालेमा प्रवेश गर्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
सोमबार केही अनलाइन सञ्चारमाध्यममा यादव एमालेमा प्रवेश गर्ने तयारीमा रहेको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उनले उक्त खबर पूर्णतः भ्रामक भएको बताए।
यादवले भने, “केही मिडियामा एमालेमा प्रवेश गर्ने तयारी भनेर समाचार लेखिएको रहेछ। त्यो भ्रामक हल्ला हो। एमाले प्रवेश गर्ने कुरा मैले सोचेकै छैन।”
उनले मधेसको मुद्दालाई अझ सशक्त बनाउने र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने उद्देश्यसहित जनता समाजवादी पार्टी (जसपा) नेपालसँग एकता गरिएको स्पष्ट पारे।
“हामीले कुनै पदको बार्गेनिङ गरेर होइन, मधेसको हितका लागि जसपासँग एकता गरेका हौं,” यादवले भने।
यादवले एमाले प्रवेशको हल्लाका पछाडि नलाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।













