नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रतता हननका १२१ घटना

काठमाडौँ, २८ पुसः नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रतता हननका १२१ घटना घटेको पाइएको छ ।
प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरूको अभिलेखन गर्ने क्रममा सन् २०२५ जनवरी १ देखि सन् २०२५ डिसेम्बर ३१ सम्ममा उक्त सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका  घटना घटेको जनाएको हो ।
सबैभन्दा बढी धम्की दुर्व्यवहार का ५० घटना अभिलेख भएका छन् । यसैगरी आक्रमण कुटपिटका ३७, पेसागत असुरक्षाका १५, कब्जा/अवरोधका नौ, पक्राउ प्रयासका पाँच, शङ्कास्पद मृत्युका दुई, नीतिगत बन्देजका दुई र लैङ्गिक हिंसाका एक घटना अभिलेख भएका छन् ।
प्रदेशअनुसार अनुगमन गर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६२, मधेस प्रदेशमा २७, सदरपश्चिममा आठ, कोशीमा सात, लुम्बिनी र गण्डकीमा ६/६ र कर्णालीमा पाँच घटना घटेका छन् ।
लैङ्गिक आधारमा एक वर्षभरिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार/सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको काउन्सिलले जनाएको छ । यस अवधिमा प्रेस स्वतन्त्रता दुरूपयोगका १० वटा घटना घटेका छन् । यसमा बागमती प्रदेशमा पाँच, मधेस प्रदेशमा चार र कर्णालीमा एक घटना घटेको विज्ञप्तिमा उल्लेख छ ।रासस
सम्बन्धित पोस्टहरुः