वीरगञ्ज — भोजपुरी लोक तथा आधुनिक संगीतकी चर्चित गायिका कल्पना पटवारी मधेश साहित्य महोत्सव २०२६ मा विशेष सांगीतिक प्रस्तुति लिएर आउने भएकी छन्। उनको उपस्थितिले महोत्सवप्रति दर्शक तथा संगीतप्रेमीहरूबीच उत्साह थपिएको छ।
लोकगीतलाई आधुनिक संगीतसँग जोडेर नयाँ पुस्तासम्म पुर्याउन सफल कल्पना पटवारी भोजपुरी संगीतको एक स्थापित नाम हुन्। उनका गीतहरू नेपाल, भारतसहित विश्वभर रहेका भोजपुरी भाषी समुदायमा अत्यन्त लोकप्रिय छन्।
उत्कर्ष नेपालद्वारा आयोजना गरिने मधेश साहित्य महोत्सव २०२६ माघ १५, १६ र १७ गते (जनवरी २९–३१, २०२६) वीरगञ्जस्थित मधेश विश्वविद्यालय परिसर मा आयोजना हुँदैछ। महोत्सवको सांगीतिक सन्ध्यामा कल्पना पटवारीले आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार कल्पना पटवारीको प्रस्तुति महोत्सवको मुख्य आकर्षणमध्ये एक हुनेछ, जसले मधेशको लोक–संस्कृति, संगीत र सामूहिक उत्सवको भावनालाई थप मजबुत बनाउनेछ।
साहित्य, कला, संस्कृति र सांगीतिक प्रस्तुतिको संगम रहने मधेश साहित्य महोत्सव २०२६ लाई यस वर्ष अझ ठूलो, समावेशी र जनमुखी बनाउने तयारी गरिएको आयोजकले बताएका छन्।














