वीरगंज,२९ पुस –
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका स्थानमा नयाँ नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विभिन्न राजनीतिक दलका समानुपातिक उम्मेदवार सूचीमा रहेका ८५ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन्।
नाम फिर्ता लिएका उम्मेदवारको स्थानमा अर्को नाम सिफारिस गर्न आयोगले सम्बन्धित दलहरूलाई पत्राचार गरिरहेको छ।
निर्वाचन कार्यतालिकाअनुसार राजनीतिक दलहरूले आजदेखि आगामी माघ २ गतेसम्म रिक्त स्थानमा नयाँ नाम पठाउन सक्नेछन्। आयोगले प्राप्त नयाँ नामहरू समावेश गरी माघ ४ गते समानुपातिक उम्मेदवारको बन्दसूची प्रकाशित गर्नेछ।
प्रकाशित सूचीमाथि माघ ५ गतेदेखि माघ १० गतेसम्म दाबी–विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। दाबी–विरोधका उजुरीमाथि निर्वाचन आयोगले माघ ११ देखि माघ १७ गतेसम्म अध्ययन गर्नेछ। आवश्यक परेमा माघ १९ गते सूची संशोधनसम्बन्धी सूचना प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
समानुपातिक उम्मेदवारको अन्तिम सूची माघ २० गते प्रकाशित गरिने आयोगले जनाएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता आगामी माघ ६ गते हुने छ भने प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुने तय गरिएको छ ।














