माघ १ गते वीरगंजमा माघी महोत्सवको आयोजना गरिने

वीरगंज २९ पुस । माघ १ गते वीरगंजमा माघी महोत्सवको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

माघ १ गते वीरगंजस्थित आदर्शनगर स्वीमिङ पुल परिसरमा १२ः३० बजेदेखि महोत्सव शुरु हुने थारू माघी मूल समारोह समिति, पर्साले जनाएको छ ।

आज नेपाल पत्रकार महासंघ पर्सा शाखा वीरगंजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा थारू पत्रकार संघका अध्यक्ष शम्भु महतो थारू, प्रचार–प्रसार संयोजक दिपेन्द्र चौधरी, सांस्कृतिक संयोजक विजया ओझैया, सुरक्षा संयोजक विकास चौधरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा समाजसेवी, शिक्षाप्रेमी तथा थारू कल्याणकारिणी सभाका अगुवा जंगबहादुर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने छन। कार्यक्रममा आदर्श थारू छात्रावास, कुम्हालटोल वीरगंजका संस्थापक तथा समाजसेवीहरूको समेत उपस्थिति रहने जनाइएको छ।

माघी पर्वको अवसरमा शुभकामना आदान प्रदान, थारू भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम अन्तर्गत आदर्शनगरदेखि पुरानो बसपार्कसम्म थारू सांस्कृतिक प्रभातफेरी आयोजना गरिनेछ। त्यसैगरी थारू समुदायका बालबालिकाद्वारा नृत्य, झाँकी, सामाचकेवा, भठ्ठा, थारू लोकनृत्य तथा कला प्रदर्शन हुनेछन। थारू विशेष परिकारहरू—घोंगी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाइ तिल लगायतका परम्परागत खानाका परिकारसमेत प्रस्तुत गरिनेछ।

 

सम्बन्धित पोस्टहरुः