बालविवाहले समाजमा पारेको असरबारे मधेस बालिका सम्मेलन

राधेश्याम पटेल /

बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जाल मधेस प्रदेशको आयोजनामा मङ्गलवारदेखि जीतपुरसिमरा उपमहानगर अन्तर्गत सिमरामा दुई दिने मधेस बालिका सम्मेलन शुरू भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले सम्मेलनको उद्घाटन गरेका थिए ।

नगरप्रमुख पौडेलले जबसम्म यहाँको समाज शिक्षित र समृद्ध हुँदैन, तबसम्म बालविवाह र दाइजोप्रथा जस्ता सामाजिक कुरीतिहरूले जरा गाडिरहने बताए । उनले बालविवाहको कारण समाजमा विभिन्न प्रकारका विकृति बढ्दै गएको चर्चा गर्दै महिला हिंसा, दाइजोप्रथा, लैङ्गिक हिंसालगायतले नेपाली युवतीहरू पीडित बनिरहेको बताए । यस्ता सामाजिक कुरीतिले कतिपय घटनामा विवाहिता जीवनभर कष्टकर दुःख खेप्न बाध्य भइरहेको उनले बताए ।

सम्मेलन आयोजन मूल समितिकी अध्यक्ष सन्ध्या पटेलको अध्यक्षता र मरियम खातुनको सहजीकरणमा सम्पन्न कार्यक्रममा मधेस प्रदेश नीति आयोगकी सदस्य रीना यादव, महिला अधिकार रक्षक सञ्जाल बाराकी अध्यक्ष निभा सिंह, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र कँडेल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्ष वेदप्रकाश जोशीको सहभागिता थियो ।

बालविवाहले समाजमा पारेको असरबारे सडक नाटक, विभिन्न समूहगत छलफलमार्फत सहभागीहरूले प्रदेशमा बालविवाह घटाउने प्रतिबद्धता जाहेर गरेका थिए । सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः