वीरगंज , १ माघ –
आज देशभर माघे सङ्क्रान्ति पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ लाई मकर सङ्क्रान्ति पनि भनिन्छ । यस दिनदेखि उत्तरायण सुरू हुने विश्वास छ, जसअनुसार दिन लम्बिँदै र रात छोटिँदै जान्छन् ।
उत्तरायण सुरू हुने दिन स्नान, जप, तप, ध्यान र दानलाई विशेष पुण्यदायी मानिने भएकाले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । ती स्थानहरूमा आज विशेष मेला पनि लाग्ने परम्परा छ । तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने चलन छ । जाडो मौसममा शरीरलाई न्यानो दिने भएकाले यस्ता तातो परिकार खाने प्रचलन रहिआएको हो । पुसको अन्तिम दिन पकाएको तरुल माघमा खाने चलनलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानले समेत जनाउँछ ।
यस दिन तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने विश्वास पनि छ । माघे सङ्क्रान्तिकै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवससमेत मनाउँदैछ । कन्दमूलको सेवनसँग जोडेर यो दिवस मनाउन थालिएको हो ।














