वीरगंज , २ माघ –
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाली समाजमा मानवीय संवेदना अझै समाप्त नभएको स्पष्ट पारेका छन्। बिहीबार मानव सेवा आश्रममा आयोजित कार्यक्रममा उनले असहाय, गरिब र दीनदुःखीहरूको सेवामा सबै नेपाली अग्रसर हुनुपर्ने बताए।
उनका अनुसार देश संवेदनशील मोडमा रहेकाले सामाजिक समस्याको समाधान पनि आपसी सहयोग र सद्भावबाटै सम्भव छ। “नेपालीका लागि नेपाली नै उभिनुपर्छ,” उनले भने, “यस अभियानमा नेपाल प्रहरी सधैं साथमा रहनेछ।” कार्यक्रममा प्रमनि कार्कीले आश्रमलाई नगद १० हजार रुपैयाँ तथा खाद्यान्न सहयोग प्रदान गरेका छन्।
कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख गोविन्द थपलिया, प्रहरी उपरीक्षक सुदीपराज पाठकलगायत प्रहरी अधिकारीहरूको सहभागिता रहेको थियो।
पर्सा र बारामा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पुगेका प्रमनि कार्कीको उपस्थितिमा नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा पर्साको पोखरिया नगरपालिकामा २०० जना विपन्न नागरिकलाई कम्बल वितरण गरिएको छ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना खत्री, प्रदेश अध्यक्ष वरुणा बराल थपलिया, पोखरिया नगर प्रमुख प्रद्युम्न चौहान र उपप्रमुख रुबी ठाकुरलगायतको उपस्थिति थियो।
यस्तै, बाराका विभिन्न स्थानमा पनि असहाय र गरिब परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ। भ्रमणकै क्रममा प्रमनि कार्कीले वीरगञ्जस्थित गहवामाई मन्दिर र बाराको विश्वप्रसिद्ध गढीमाई मन्दिरको दर्शनसमेत गरेका छन्।














