वीरगंज , ४ माघ –
नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ। निर्वाचन आयोगले पार्टीको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई दिएपछि देउवा पक्षले कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको देउवा पक्षको बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक र कानुनी उपचार खोज्ने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले बताए । उनका अनुसार आयोगले देउवा पक्षको धारणा नसुनी एकपक्षीय ढंगले निर्णय गरेको छ।
महतले विशेष महाधिवेशनको औचित्य, वैधानिकता र उपस्थित प्रतिनिधिको संख्या जस्ता विषयलाई बेवास्ता गर्दै आयोगले दूषित मनसायका साथ निर्णय गरेको आरोप लगाए। उनले नेपाली कांग्रेसको वैधानिक नेतृत्व १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै रहेको दाबी गरे।














