भोजपुरी सामाजिक चेतनामूलक गीत “दाल दरेम राजा तोहरा करेज प”

वीरगंज, ३ माघ । समाजमा अझै पनि गहिरो रूपमा जरा गाडेर बसेको दहेज (दाइजो) प्रथाविरूद्ध चेतना फैलाउने उद्देश्यका साथ नयाँ भोजपुरी सामाजिक गीत “दाल दरेम राजा तोहरा करेज प” सार्वजनिक गरिएको छ। यस गीतले दहेजमा आधारित विवाहले पारिवारिक जीवनमा निम्त्याउने समस्या र मानसिक तनावलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको छ।

गीतका शब्द उमालालजीले लेखेका हुन् भने अभिनयमा दीपेश शर्मा र पारूल यादव देखिएका छन। गीतमा चंदन प्रजापति र शिवानी सिंहको स्वर रहेको छ। यस सामाजिक सन्देशमूलक गीतको निर्माण नितेश मेहताले गरेका हुन।

भोजपुरी सामाजिक गीतको शैलीमा तयार गरिएको “दाल दरेम राजा तोहरा करेज प” ले दहेज प्रथाले पारिवारिक जीवनमा ल्याउने नकारात्मक असरलाई यथार्थपरक ढंगले प्रस्तुत गर्दै समाजमा सकारात्मक सोच र परिवर्तनको आहवान गरेको छ।

गीतको भिडियोमा दहेज लिएर गरिएको विवाहपछि उत्पन्न हुने विभिन्न जटिल अवस्थाहरू देखाइएका छन। पत्नीले पतिको कुरा नमानेको, घरको जिम्मेवारीमा सहयोग नगरेको, “दहेज लिएर विवाह भएको हो, अब किन काम गर्ने?” भन्ने सोच विकास भएको, पतिको मानसिक तनाव बढेको, सम्मान नदिएको तथा नियन्त्रण गर्ने प्रयास गरेको जस्ता सामाजिक यथार्थहरू भिडियोमार्फत उजागर गरिएको छ।
दहेज प्रथाले होइन, आपसी प्रेम, सम्मान र सहयोगले मात्र परिवारलाई सुदृढ बनाउँछ । विवाह समानता, समझदारी र पारस्परिक सम्मानमा आधारित हुनुपर्छ भन्ने सन्देश गीतले प्रभावकारी रूपमा दिएको छ।

गीतमार्फत समाजमा दहेज प्रथाविरूद्ध सोच परिवर्तन गराउने र विशेषगरी युवा पुस्तालाई सचेत बनाउने प्रयास गरिएको छ। सामाजिक विकृतिविरूद्ध सिर्जनात्मक माध्यमबाट आवाज उठाउन गीतले सन्देश दिएको छ ।

सम्बन्धित पोस्टहरुः