रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ताको निर्णयविरुद्ध सर्वोच्चमा तीन रिट दर्ता

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ४ माघ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट निवेदन दर्ता भएका छन्।

दिनेश त्रिपाठी, युवराज सफल तथा आयुष बडाल, आभाष रेग्मी र स्मृति अधिकारीको तर्फबाट छुट्टाछुट्टै रूपमा तीन रिट दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ। ती तीनवटै रिटको पहिलो पेसी माघ ६ गतेका लागि एकैसाथ तोकिएको छ।

रिट निवेदनमा महान्यायाधिवक्ता भण्डारीले सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन नमिल्ने अवस्थामा अभियोगपत्र संशोधनको नाममा मुद्दा नै फिर्ता लिने उद्देश्य राखिएको दाबी गरिएको छ। यस्तो निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेशको मागसमेत रिटमा गरिएको छ।

रिटकर्ताहरूले महान्यायाधिवक्ताको इच्छाअनुसार कुनै पनि मुद्दा यसरी संशोधन गर्दै जाने हो भने न्यायिक अराजकता निम्तिने र स्वच्छ न्यायको अवधारणामै गम्भीर असर पर्ने तर्क गरेका छन्।

साथै, हरेक सरकारले आफ्ना नजिकका व्यक्तिहरूका मुद्दा यसैगरी टुंग्याउने प्रवृत्ति बढेमा सम्पूर्ण न्यायिक प्रक्रिया नै संकटमा पर्ने भएकाले सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने माग गरिएको छ।

महान्यायाधिवक्ता भण्डारीले गोर्खा मिडियासँग जोडिएका सहकारी ठगी प्रकरणमा सबै प्रतिवादीका अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। सुरुमा रवि लामिछानेको हकमा मात्र अभियोगपत्र संशोधन गर्ने निर्णय भए पनि शुक्रबार पुनः निर्णय सच्याउँदै सबै प्रतिवादीविरुद्धका दुई अभियोगपत्र संशोधनका लागि स्वीकृति दिइएको थियो।

सम्बन्धित पोस्टहरुः