नगर प्रमुख साम्पाङले दिए राजीनामा

धरान (सुनसरी), ४ माघः धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आजैदेखि लागू हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष राजीनामा पेस गर्नुभएको हो ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उपमहानगर प्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म जहाँ जाँदैछु, त्यो पनि धरानकै विकासका लागि हो । नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो ।”

साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो । उहाँले यहाँ कार्यरत रहँदा श्रमदान अभियान, सुशासन प्रवर्द्धन तथा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

साम्पाङको राजीनामापछि उपप्रमुख अइन्द्रविक्रम बेघाले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर प्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यवाहकका रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।

सम्बन्धित पोस्टहरुः