वीरगंज , ६ माघ-
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिनुभएको छ। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको जानकारी दिनुभएको हो।
अर्थमन्त्री खनालका अनुसार पुनले आफ्नो अभियानलाई निरन्तरता दिन र त्यसमा पूर्ण रूपमा सक्रिय हुन राजीनामा दिनुभएको हो। सरकारमा रहँदा सुरु गरेका अभियानहरूलाई बाहिरबाट प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले उनले पद त्यागेको जनाइएको छ।
यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनका लागि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता र ऊर्जामन्त्री कुलमान घिसिङले पनि राजीनामा दिइसकेका छन्।
निर्वाचन नजिकिँदै जाँदा मन्त्रीहरूको राजीनामाले राजनीतिक गतिविधि थप तातेको छ भने सरकार पुनर्गठनको सम्भावना पनि देखिएको छ।















