सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन

वीरगंज , ७ माघ –

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरूमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।

निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गरिएको बैठकमा एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को कार्यान्वयन, जनशक्ति परिचालन र बन्दोबस्ती व्यवस्थाको समीक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ। बैठकमा चारवटै सुरक्षा निकायले गरेका तयारीबारे ब्रिफिङ प्रस्तुत गरिएको थियो।

बैठकले निर्वाचनका क्रममा समन्वयका लागि गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने, राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसारलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ गर्ने र सोसम्बन्धी निर्देशन सबै जिल्ला सुरक्षा समितिलाई दिने निर्णय गरेको छ।

बैठकमा गृह र रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए।

सम्बन्धित पोस्टहरुः