‘छौरा’ शब्द विवाद : एमाले सचिव महेश बस्नेतका अभिव्यक्तिको व्यापक विरोध

वीरगंज , ७ माघ –

नेकपा एमालेका सचिव महेश बस्नेतले मधेशी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ। जनकपुरधाममा आयोजित सभामा रास्वपा नेता बालेन साहले प्रयोग गरेको मैथिली शब्द ‘छौरा’ लाई बस्नेतले गलत अर्थ्याएको भिडियो सार्वजनिक भएपछि उनको तीव्र आलोचना भइरहेको छ।

गत सोमबार जनकपुरमा भएको रास्वपाको सभामा बालेन साहले ‘मधेशिया छौरा’ भन्ने शब्द प्रयोग गरेका थिए। मैथिली भाषामा ‘छौरा’ को अर्थ ‘केटो’ वा ‘छोरो’ हुने भए पनि एमाले नेता बस्नेतले त्यसलाई ‘छाउरा’ भन्दै अपमानजनक अर्थ लगाएको भन्दै मधेशी समुदाय आक्रोशित बनेको हो।

यस विषयलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विरोध चुलिएको छ। कतिपयले बस्नेतविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्। मधेशी आयोगका पूर्व अध्यक्ष विजय दत्तले खुला पत्र लेख्दै भाषिक संवेदनशीलता नबुझी अभिव्यक्ति नदिन आग्रह गरेका छन्।

यस्तै, डा. अभिषेकराज सिंहले पनि बस्नेतलाई सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन्। यसैबीच धनुषाको बटेश्वर गाउँपालिका–३ का लालबाबु साहले बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी दिने तयारी रहेको बताएका छन्।

सम्बन्धित पोस्टहरुः