वीरगंज , ८ माघ –
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन आयोगले आज अन्तिम निर्णय गर्ने तयारी गरेको छ। आयोगका अनुसार बेलुकी ५ बजेसम्म उजुरीमाथि छानबिन टुंग्याइनेछ।
आयोगको कार्यतालिकाअनुसार आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउनेछन्। त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार यस निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी परेको छ। उजुरी पर्नेमा रौतहटबाट नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, भक्तपुर–२ बाट रास्वपाका राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक तथा सुनसरी–२ बाट रास्वपाका उम्मेदवार लालविक्रम थापा रहेका छन्। आयोगले हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी संकलन गरेको थियो।
यसैबीच निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि कडा निगरानी रहने स्पष्ट पारेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उजुरी परे/नपरेको आधारमा मात्र नभई आयोगका आफ्नै संयन्त्रबाट प्राप्त प्रतिवेदनका आधारमा पनि आवश्यक अध्ययन गरी कानुनअनुसार कारबाही अघि बढाइनेछ। आचारसंहिताविपरीत गतिविधि देखिए स्वअध्ययनका आधारमै कारबाही हुने उहाँले चेतावनी दिनुभएको छ।













