नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

वीरगंज , ८ माघ –

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३७ र सीता राना मगरले अविजित २७ रन बनाए। नेदरल्यान्ड्सकी इसाबेल भान डेर वोनिङले ३ विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो। बाबेट डे लीडेले सर्वाधिक ४९ रन जोडिन् भने नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिइन्।

यसअघि पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। नेदरल्यान्ड्सको भने यो लगातार तेस्रो जित हो। १० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ।

प्रतियोगितामा दुवै समूहका शीर्ष तीन टोली ‘सुपर–सिक्स’ मा प्रवेश गर्नेछन्। ‘सुपर–सिक्स’ बाट शीर्ष चार टोलीले आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपका लागि छनोट पाउनेछन्।

सम्बन्धित पोस्टहरुः