स्वच्छ निर्वाचनका लागि नागरिक अभियानाद्वारा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आह्वान

काठमाडौं, ८ माघ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान (सिसिसिई)ले आज प्रेस विज्ञप्ति जारी गरी आसन्न प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण रूपमा पालना गर्न आहवान गरेको छ ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष विजयराज गौतमले संयुक्त रुपमा बिहीवार जारी गर्नुभएको विज्ञप्तिमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिताको प्रभावकारी पालना अत्यन्तै आवश्यक रहेको जनाएको छ ।
विज्ञप्तिमा आगामी निर्वाचनमा संलग्न सबै सरोकारवालाहरू, राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा मतदाताहरूलाई निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न हार्दिक आह्वान गरिएको छ ।
निर्वाचन लोकतन्त्रको मेरूदण्ड हो । निर्वाचन प्रक्रियामा हुने हिंसा, डरत्रास, मतदाता प्रलोभन, सरकारी स्रोतसाधनको दुरूपयोग, घृणात्मक अभिव्यक्ति, गलत सूचना तथा सामाजिक सञ्जालको दुरूपयोगले निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँछ । यस्ता गतिविधिहरूलाई रोक्न निर्वाचन आयोगद्वारा जारी आचारसंहिता सबैका लागि बाध्यकारी हुनुपर्दछ, विज्ञप्तिमा उल्लेख छ,– स्वच्छ निर्वाचनका लागि नागरिक अभियान राजनीतिक दल र उम्मेदवारहरूलाई शान्तिपूर्ण, मर्यादित र मुद्दा–केन्द्रित चुनावी प्रतिस्पर्धा गर्न आग्रह गर्दछ । साथै, निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न तथा उल्लङघनका घटनामा निष्पक्ष र कडाइका साथ कारबाही गर्न अनुरोध गर्दछ ।
निर्वाचनका सम्पूर्ण प्रक्रियाहरू हामीले नजिबाट अवलोकन गरिरहेका छौं। मनोनयन क्रममा देखिएको उत्साह र जन सहभागीता प्रशसनीय छ। तर केही स्थानमा देखिएको तडकभडक र उत्तेजक गतिविधि आचारसंहिता विपरित देखिएकोले सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गराउदै सिसिसिईले सुरक्षा निकायहरूलाई निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । मतदाताहरूलाई पनि कुनै पनि किसिमको प्रलोभन, दबाव वा गलत सूचनाबाट प्रभावित नहुन र आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न अनुरोध समेत गरिएको छ ।
स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार रहेकोले अभियानले निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी, सहकार्य र नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त समेत विज्ञप्तिमार्फत गरिएको छ ।
सम्बन्धित पोस्टहरुः