वीरगंज , ९ माघ –
चैत्र १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पर्सा जिल्लाबाट सहभागी हुने परीक्षार्थीको संख्या गत वर्षको तुलनामा घटेको छ। शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार यस वर्ष जिल्लाबाट एसईई परीक्षामा ६३३ जना कम विद्यार्थी सहभागी हुँदैछन्।
एकाइ प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार यस वर्ष पर्साबाट कुल १० हजार ७०१ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन्। गत वर्ष भने जिल्लाबाट ११ हजार ४१३ जनाले परीक्षा दिएका थिए।
यस वर्षका परीक्षार्थीमध्ये नियमिततर्फ ८ हजार ५७ जना, ग्रेडवृद्धितर्फ २ हजार ४५९ जना र प्राविधिक धारतर्फ १८५ जना रहेका छन्। साधारण धारका विद्यार्थीले ७ वटा विषयको परीक्षा दिनेछन् भने प्राविधिक धारका विद्यार्थीले ९ वटा विषयको परीक्षा दिने भट्टराईले जानकारी दिए।
परीक्षा केन्द्र भने अझै अन्तिम टुंगो नलागेको उनले बताए। “परीक्षा केन्द्रहरू फिक्स भइसकेका छैनन्। नियमित छलफल भइरहेको छ, अन्तिम चरणमा पुगेको छ। दुई–चार दिनभित्र केन्द्र पनि फाइनल हुन्छ,” उनले भने।
यस वर्षको एसईई परीक्षा चैत्र १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाइएको छ।














