वीरगञ्ज १० माघ । निमा पुस्तक प्रकाशन काठमाडौंको आयोजनामा शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित शिक्षक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र अंग्रेजी विषय अध्यापन गर्ने शिक्षकहरूलाई ग्रिड (विषयवस्तु विशिष्टीकरण तालिका), प्रश्न निर्माण (Item Making) र त्यसको प्रभावकारी प्रयोगसम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (नेशनल PABSAN) वीरगञ्ज महानगर समितिका अध्यक्ष जियालाल गुप्ता प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। उहाँले शिक्षकहरूको निरन्तर तालिम र क्षमता विकासले मात्र गुणस्तरीय शिक्षामा योगदान पुग्ने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूको आवश्यकता औंल्याउनुभयो। त्यस्तै, ज्ञानदा एकेडेमी वीरगञ्जका सीईओ राजेन्द्र कोइराला विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्यापन गराउने विज्ञान, सामाजिक अध्ययन र अंग्रेजी विषयका शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। विशेषगरी कक्षा १० बाट कम्तीमा दुई जना शिक्षकको सहभागिता सुनिश्चित गरिएको कार्यक्रममा कुल १८० जना शिक्षकहरूले सक्रिय रूपमा भाग लिएका थिए।
कार्यक्रमको मुख्य उद्देश्य पाठ्यक्रममा आधारित प्रभावकारी प्रश्न निर्माण, विद्यार्थी मूल्यांकन प्रणालीलाई वैज्ञानिक र सन्तुलित बनाउने तथा शिक्षकहरूलाई आधुनिक मूल्यांकन प्रविधिमा दक्ष बनाउनु रहेको आयोजकले जनाएको छ। प्रशिक्षण सत्रहरू निमा पुस्तक प्रकाशनका अनुभवी लेखक तथा प्रशिक्षकहरू डा. हिरालाल सुवेदी, जगन्नाथ कपाली र मानबहादुर सुनारले सञ्चालन गर्नुभएको थियो।
ज्ञानदा एकेडेमी वीरगञ्जमा सम्पन्न उक्त कार्यक्रमले शिक्षकहरूको
व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। निमा पुस्तक प्रकाशनले आगामी दिनहरूमा पनि देशका विभिन्न स्थानमा यस्ता अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।













