वीरगंज १० माघ –
वीरगंज कपडा बैंकले पर्साको कालिकामाइ गाउँपालिका–४ मा निःशुल्क कम्बल वितरण गरेको छ। परशुरामपुर बलुवा टोलका दलित तथा एकल महिलालाई लक्षित गरी २० थान कम्बल वितरण गरिएको हो।
वीरगंज कपडा बैंकका सदस्य तथा युवा समाजसेवी नवराज भट्टराईका अनुसार जाडोका कारण प्रभावित विपन्न समुदायलाई राहत पुर्याउने उद्देश्यले कम्बल वितरण गरिएको हो।
वितरण गरिएका कम्बल बैंकका सल्लाहकार तथा समाजसेवी राजेश बर्णवालले सहयोग स्वरूप उपलब्ध गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथि कालिकामाइ गाउँपालिका–४ का वडाध्यक्ष संजय कुमार साहले दिनदुखी, असहाय तथा विपन्न वर्गको सेवा नै सर्वोत्तम धर्म भएको उल्लेख गर्दै सबैलाई मानवताको मर्मअनुसार सेवा र सहयोग गर्न आग्रह गरे।
उनले वीरगंजबाट आएर स्थानीयलाई सहयोग गरेकोमा वीरगंज कपडा बैंकको खुलेर प्रशंसा समेत गरे। वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी सिकन्दर देवान, बैंकका सदस्य केदार गुप्ता लगायत स्थानीय अगुवा, युवा तथा महिलाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विगत सात वर्षदेखि कपडा बैंकले दाताबाट संकलन गरिएका कपडा तथा सामग्री असहाय र विपन्नलाई निःशुल्क वितरण गर्दै आएको बताए। उनले आजको कम्बल सहयोग उपलब्ध गराउने सल्लाहकार राजेश बर्णवालप्रति आभार व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी तथा पदाधिकारीप्रति धन्यवाद ज्ञापन गरे।















