लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाद्वारा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

वीरगंज , १२ माघ –

लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत तथा विपन्न वर्गलाई लक्षित गर्दै निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको छ।

बिरगंज महानगरपालिकाका विभिन्न पाँच स्थानमा सञ्चालन गरिएको छनोट शिविरबाट पहिचान गरिएका १५१ जना बिरामीको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिएको बैंकले जनाएको छ। छनोट शिविर छपकैया वडा नम्बर–१ स्थित छठघाट, जसौली वडा नम्बर–२७, गहवा वडा नम्बर–८ को दलित बस्ती, सिरिसिया वडा नम्बर–२१ को दलित बस्ती तथा मुर्ली वडा नम्बर–१२ मा सञ्चालन गरिएको थियो।

कार्यक्रम लक्ष्मी सनराईज बैंक आदर्शनगर शाखाका संयोजक जीवन निरौलाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा शाखा प्रबन्धक रोहिणी आचार्य तथा प्रदेश कार्यालयका प्रतिनिधि संजय यादवको उपस्थिति रहेको थियो।

शल्यक्रियाका लागि बिरगञ्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामीसहितको चिकित्सक टोलीले प्राविधिक सेवा प्रदान गरेको थियो। कार्यक्रमका अवसरमा बैंकका प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस किसिमका कार्यक्रमले दृष्टि समस्याबाट पीडित नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः