वीरगंज , १२ माघ –
७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग तथा वीरगञ्ज भन्सार कार्यालयको आयोजनामा वीरगंजमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीको नेतृत्वमा निकालिएको प्रभातफेरी भन्सार कार्यालय परिसरबाट सुरु भई मितेरी पुलसम्म पुगेपछि पुनः भन्सार कार्यालयमै आएर समापन गरिएको थियो।
प्रभातफेरी कार्यक्रममा वीरगंज भन्सार कार्यालयका कर्मचारी तथा प्रतिनिधिहरू, क्लियरिङ एजेन्ट संघका सदस्यहरू, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत भन्सार प्रशासनको भूमिका, राजस्व संकलनमा भन्सारको योगदान, व्यापार सहजीकरण तथा मुलुकको आर्थिक विकासमा भन्सारको महत्वबारे आम नागरिकमा जानकारी गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय भन्सार दिवस प्रत्येक वर्ष विश्वभर मनाइने गरिन्छ, जसले भन्सार प्रशासनलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने विषयमा ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्दछ।















