चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गरिएको बाघ गणनाको दोस्रो चरणको काम सम्पन्न भएको छ। गएको पुस ३ गतेदेखि सुरु भएको गणनाअन्तर्गत दोस्रो चरण पूरा भएसँगै जडान गरिएका क्यामेरा हटाउने काम सुरु गरिएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो चरणमा जडान गरिएका क्यामेरा निकाल्ने कार्यका लागि तालिम प्राप्त करिब १ सय ५० जना गणक परिचालन गरिएको छ। यस चरणमा १३ वटा क्याम्प स्थापना गरी गणना कार्य सञ्चालन गरिएको थियो।
दोस्रो चरणअन्तर्गत सौराहा, खगेन्द्रमल्ली, लोथर–प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै सिकारी बाससम्मका क्षेत्रमा क्यामेरा जडान गरेर बाघको तथ्याङ्क संकलन गरिएको थियो। हाल ती सबै क्यामेरा क्रमशः हटाइँदैछ।
चितवन–पर्सा ब्लकमा कुल ९ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना भइरहेको सूचना अधिकारी मगरले जानकारी दिए। यससँगै बाघको बासस्थान रहेका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना जारी रहेको छ।
तीन महिना लगाएर बाघ गणना सम्पन्न गर्ने लक्ष्य राखिएको निकुञ्ज प्रशासनले जनाएको छ। नेपालमा हरेक चार वर्षमा एकपटक बाघ गणना गर्ने प्रचलन छ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३ सय ५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो। त्यतिबेला चितवनमा १ सय २८, बर्दियामा १ सय २५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ भेटिएका थिए।














