आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

वीरगंज , १२ माघ –

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणमा नेपाल आज स्कटल्यान्डसँग ७२ रनले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ। स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो। नेपालका लागि विन्दु रावल र रोमा थापाले अविजित १४–१४ रन बनाए। स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिए।

पहिलो इनिङ्समा कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड १४० रनमा अलआउट भएको थियो। स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन्। नेपालका मनिषा उमाध्यायले ४ र रुविना क्षेत्रीले ३ विकेट लिए।

यस पराजयसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ भने स्कटल्यान्ड सुपर सिक्समा स्थान बनाउन सफल भयो। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्। समूह ‘ए’ बाट अमेरिका, बङ्गलादेश र आयरल्याण्ड सुपर सिक्समा पुगेका छन्।

सुपर सिक्सबाट शीर्ष चार टोलीहरू यही जूनमा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन्।

सम्बन्धित पोस्टहरुः