वीरगंज १३ माघ । माघ १५ देखि १७ गतेसम्म वीरगंज स्थित मधेस विश्वविद्यालयको प्राङ्गणमा मधेस साहित्य महोत्सव हुने भएको छ ।
उत्कर्ष नेपालले मधेस साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मंगलवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
मधेस विश्वविद्यालयका प्राध्यापक तथा डा. दीपक शाक्यले यस वर्षको मधेस साहित्य महोत्सव अब एकदिने कार्यक्रम मात्र नभई तीन दिन निरन्तर कार्यक्रमका रूपमा सञ्चालन गर्न लागिएको बताए। महोत्सवलाई मधेसका विविध पहिचान, भाषा, साहित्य, कला र संस्कृतिसँग जोड्दै साझा सांस्कृतिक आन्दोलनका रूपमा स्थापित गर्ने उद्देश्य लिइएको छ।
महोत्सवको उदघाटन समारोह वीरगंज महानगरपालिकाका नगरप्रमुख तथा संरक्षक राजेशमान सिंहको अध्यक्षता तथा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।
महोत्सवअन्तर्गत पहिलो दिन विभिन्न सत्रहरूमा गाउँका युवा, पलायन र विकल्प, गाउँँ, लोकतन्त्र र सत्ता तथा गाउँँ स्मृति र इतिहास जस्ता विषयमा विज्ञ वक्ताहरूले आ–आफ्ना धारणा राख्नेछन । दोस्रो दिन शिक्षा, स्वास्थ्य र समानता, गाउँँ संघर्ष र संरचना, गाउँँ विकास र विनाश तथा गाउँँका खबर विषयमा छलफल हुने छ। तेस्रो दिन गाउँँ बन्दै शहर र शहर बन्दै गाउँँ तथा भोजपुरी साहित्यमा गाउँँसम्बन्धी विषयमा विशेष सत्रहरू आयोजना गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाललगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सलमा खातुनले गर्नुभएको थियो।








