वीरगंज, १३ माघ । कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी २० वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ ।
मिति २०६२।११।१३ गते जिल्ला पर्सा बिरिन्चिवर्वा गा.बि.स. वडा नं. २ हाल कालिकामाई गाउँपालिका वडा नं.५ मा अंशवण्डाको विषयमा वादविवाद हुँदा सोही ठाउँ बस्ने वर्ष ६० को मुक्तिनाथ तिवारीको घटनास्थलमा मृत्यु भएको थियो ।
वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला पर्सा बिरिन्चिवर्वा गा.बि.स. वडा नं. २ (हाल परिवर्तित कालिकामाई गा.पा. वडा नं. ५) बस्ने वर्ष ४३ को दिनेश कुमार तिवारीलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको संयुक्त प्रहरी टोलीले माघ १२ गते बिहान १०ः०० बजेको समयमा पोखरीया नगरपालिका वडा नं. ४ बाट दिनेशलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।








