वीरगंज , १४ माघ –
बाराका परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले मृतक रामेश्वर मण्डलकी पत्नी मनिता देवी मण्डललाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार घटनाको अनुसन्धानका क्रममा मनिता मण्डललाई सोधपुछ भइरहेको छ। एसपी कुँवरका अनुसार आज बिहान करिब ३ बजे अज्ञात व्यक्तिले घरमै पसेर ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डललाई हत्या गरेका हुन्।
यस घटनामा मृतक रामेश्वरका ५२ वर्षीय बुवा जगरुप मण्डल र २२ वर्षीया बहिनी रिना कुमारी गम्भीर घाइते भएका छन्। घाइते दुवैजनाको उपचार परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति शंकास्पद रहेकोले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ। एसपी कुँवरले हत्या कसले र कुन उद्देश्यले गरेको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको र संलग्न व्यक्तिलाई छिट्टै कानुनी दायरामा ल्याइने जानकारी दिएका छन्।









