वीरगंज , १४ माघ –
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा प्रेम सम्बन्धको कारण एकै परिवारका आमा–छोराको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटना योजनाबद्ध थियो। २३ वर्षीया मानिता देवी मण्डल र उनका प्रेमी धमेन्द्र महतोले २८ वर्षीय श्रीमान् रामेश्वर मण्डल र ४६ वर्षीया सासु सुमित्रा देवी मण्डललाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेका हुन्।
यस घटनामा ५२ वर्षीय ससुरा जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन्। घाइते दुवैको उपचार परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भइरहेको छ।
धमेन्द्र महतो वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका थिए। प्रहरीका अनुसार माघ १२ गते काठमाडौँ आएपछि उनी मानितासँग मिलेर हत्या योजना बनाएका थिए।
घटनापछि प्रहरीले मानितालाई घरबाट र धमेन्द्रलाई वीरगञ्जबाट नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। प्रहरीले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताएको छ।









