वीरगञ्ज (पर्सा), १४ माघः नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ ।
वीरगञ्ज महानगरपालिकाको सहयोग र सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्सा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रको सहकार्यमा सीमा सौन्दर्यकरण र सीमा सुरक्षा पोष्ट तयार पारिएको हो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सीमा सुरक्षा पोष्टको उद्घाटन गर्दै अबदेखि सीमा सुरक्षा पोष्ट व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकिने बताउनुभयो ।
“हामीले केही महिनादेखि निरन्तर रूपमा मितेरीपुल वरपर सीमा सौन्दर्यकरणको काम गर्दै आइरहेका छौँ । अहिले यहाँ हिँड्ने जो कोहीले पनि फरक अनुभूति गर्न सक्नुहुनेछ”, उहाँले भन्नुभयो, “स्वच्छ र हरियाली वीरगञ्ज बनाउने अभियानमा सरिक भएर लाग्न जरुरत भइसकेको छ ।” पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सीमा सौन्दर्यकरण गरेसँगै हेर्दा हरियाली र व्यवस्थित देखिएको बताउनुभयो ।









